भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । भोजपुर र खोटाङका किसानले उत्पादन गरेका कृषि उपजको सङ्कलन, भण्डारण, संरक्षण र बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो। यसका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रको कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ । बाँकी पाँच प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गाउँपालिकाले व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।
केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधा रहनेछन्। यसबाट तरकारी, फलफूललगायत स्थानीय उत्पादन सुरक्षित राखेर आवश्यकताअनुसार बजारसम्म पुर्याउन सहज हुनेछ ।
उचित बजार र भण्डारणको अभावमा किसानले उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने तथा कृषि उपज खेर जाने समस्या छ । नयाँ केन्द्र सञ्चालनमा आएपछि यस्तो समस्या न्यूनीकरण हुने गाउँपालिकाको अपेक्षा छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार भोजपुर र खोटाङको सीमावर्ती क्षेत्रमा निर्माण हुने केन्द्रले दुवै जिल्लाका किसानलाई लाभ पुर्याउनेछ। साथै मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले केन्द्र निर्माणपछि कृषि उत्पादनको बजारीकरण सहज हुने बताइन् । वडाध्यक्ष नभराज माङ्पाहाङका अनुसार एउटै संरचनाबाट कृषि उपजको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था हुने भएकाले टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुनेछन् ।
गाउँपालिकाले यस आयोजनामार्फत कृषि क्षेत्रलाई व्यावसायिक बनाउने र स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस





