गुल्मी।

गुल्मीको सदरमुकाम तम्घासमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–२, खजुरे ठुलाखोलाका ७१ वर्षीय लालबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार कुमाल मङ्सिर ११ गते साँझ करिब ७ः३० बजे रेसुङ्गा नगरपालिका–२, उदिनढुङ्गास्थित कमला श्रीसले सञ्चालन गर्दै आएको अनमोल होटलमा बास बस्न गएका थिए। राति खाना नखाई मदिरा सेवन गरेका उनी शनिबार दिउँसो करिब ३ बजे अचेत अवस्थामा फेला परेका हुन्।

होटल सञ्चालकले उनी अचेत अवस्थामा रहेको जानकारी गराएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले होटल सञ्चालकको सहयोगमा तत्काल उद्धार गरी उनलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास पुर्‍याएको थियो।

उपचारका क्रममा शनिबार चिकित्सकले कुमाललाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए। मृतकको शव अहिले गुल्मी अस्पताल, तम्घासमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सोही घटनापछि होटलमा खानतलासी गर्ने क्रममा प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थसमेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले उक्त अनमोल होटलबाट २५ लिटर तयारी घरेलु मदिरा र ३५० लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको हो।

बरामद गरिएको अवैध मदिरा र कच्चा पदार्थ आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया