झापा : झापाको कनकाई नगरपालिका–८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलको हाताभित्र लामो हतियारमा प्रयोग हुने एक थान गोली फेला परेको छ। विद्यालयको कार्यालयमा रहेको टेबलको घर्रामा गोली भेटिएपछि प्रहरीले बरामद गरी अनुसन्धान थालेको छ।

विद्यालयका संस्थापक सञ्चालक ४० वर्षीय प्रशान्त न्यौपानेले बिहीबार राति कार्यालयको काम गर्ने क्रममा टेबलको घर्रा खोल्दा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए। मंसिर १२ गते राति करिब ९ः३० बजे फेला परेको गोलीमा ५.५६ × ४५ एमएम उल्लेख रहेको प्रहरीले जनाएको छ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विकास भट्टराईको नेतृत्वमा प्रहरी टोली विद्यालय पुगेको थियो। प्रहरीका अनुसार बरामद गोली इन्सास राइफलमा प्रयोग हुने प्रकारको हो।

प्रहरीले गोली थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको छ। विद्यालयको कार्यालयभित्र गोली कसरी पुग्यो, कसले र कहिले त्यहाँ राखेको थियो भन्ने खुलेको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया