िवराटनगर /
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले आधारभूत तहका प्रहरी कर्मचारीका समस्या, गुनासा तथा कठिनाइ प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले स्थापना गरिएको ‘आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ को आज उद्घाटन गर्नुभएको छ।
उद्घाटनका क्रममा आईजीपी डा. के.सी.ले नेपाल प्रहरीको CUG सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारमको लिंक पठाउनुभएको थियो। साथै, एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी उहाँको गुनासो सुनेपछि डेस्कको औपचारिक शुभारम्भ गर्नुभएको हो।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको उक्त डेस्कको मुख्य उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक डा. के.सी.ले आधारभूत तहका प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा अन्य गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्न निर्देशन दिनुभएको थियो।
उहाँले उक्त डेस्कलाई प्रहरी कर्मचारीका गुनासा निष्पक्ष रूपमा सुन्ने र समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने संयन्त्रका रूपमा विकास गर्न खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशनसमेत दिनुभएको छ।

तपाईको प्रतिक्रिया