विराटनगर / विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेका तर्फबाट काजीबहादुर बस्नेतले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन् । विराटनगर महानगरपालिका–१ का वर्तमान वडाध्यक्षसमेत रहेका बस्नेतले आगामी स्थानीय तह निर्वाचनमा उपप्रमुख पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलभित्र उम्मेदवारका आकांक्षीहरू सक्रिय हुन थालेका छन् । यसैक्रममा बस्नेतले महानगरको नेतृत्व तहमा पुगेर समग्र विराटनगरवासीको सेवा गर्ने उद्देश्यसहित उपप्रमुख पदमा आफ्नो दाबी रहेको साझा सरोकार लाई बताएका छन् ।
ब्रेकिङ नेपाल न्युजसँगको कुराकानीमा उनले वडाध्यक्षको जिम्मेवारीपछि आफ्नो राजनीतिक यात्राको स्वाभाविक गन्तव्य उपप्रमुख वा प्रमुख पद रहेको उल्लेख गरे । तत्कालका लागि भने उपप्रमुख पदमा आफ्नो दाबी रहेको उनको भनाइ छ ।
‘वडाध्यक्षपछि जाने भनेको कि त उपप्रमुख हो कि त प्रमुख नै हो । अहिलेलाई भने मेरो उपप्रमुखमा सशक्त दाबी रहेको छ,’ बस्नेतले साझा सरोकार लाई भने ।
बस्नेत हाल विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तथा महानगरको सामाजिक विकास समितिका संयोजक हुन् । उनी नेकपा एमाले मोरङको सचिवालय सदस्यसमेत रहेका छन् । स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको अनुभवलाई महानगरको समग्र विकासमा उपयोग गर्ने उनको योजना छ ।
राजनीतिमा लामो समयदेखि सक्रिय बस्नेतले २०३८ सालमा लमजुङमा भूमिगत राजनीतिक जीवन बिताएका थिए । त्यसयता विभिन्न राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका उनले स्थानीय तहको नेतृत्वमा रहेर काम गर्ने अवसर पाएका छन् ।
वडाध्यक्षका रूपमा स्थानीयका समस्या, आवश्यकता र विकासका प्राथमिकतालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै बस्नेतले महानगरको उपप्रमुख भएर अझ फराकिलो क्षेत्रबाट काम गर्ने इच्छा व्यक्त गरे ।
‘मैले वडाध्यक्ष भएर वडावासीको पक्षमा राम्रै काम गरेँ भन्ने लाग्छ । अब उपप्रमुख भएर समग्र विराटनगरवासीको सेवा गर्ने इच्छा छ,’ उनले भने, ‘पार्टीले अवसर दिन्छ भन्ने विश्वास छ ।’





