​आकृति रानी फुयल
विराटनगर ।
अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था सामर्थ्य समाज विराटनगरको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
​मंसिर ३ गते आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा संस्थाका अध्यक्ष चेतनाथ पोखरेलको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
​साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख कोइरालाले आफू र महानगरपालिका सधैं अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सकारात्मक रहेको बताए। अपाङ्गता भएका व्यक्ति, समुदाय र यस संस्थाका लागि आवश्यक समन्वय र सहकार्यमा सधैं तयार रहेको उल्लेख गर्दै उनले भोलि आफ्नो कार्यकाल सकिएपछि पनि अपाङ्गता भएका व्यक्ति र संस्थालाई आवश्यक परेमा सधैं साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
​कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशका सचिव गोपालमान थापाले सामर्थ्य समाजले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा समुदायमा उदाहरणीय काम गर्दै आएको बताए। साथै उनले आगामी दिनमा कार्यक्षेत्र र संस्थागत सेवाको दायरालाई अझ फराकिलो बनाउँदै अघि बढ्न संस्थालाई सुझाव दिए।
​त्यसैगरी सीबीआर विराटनगरका सदस्य सचिव तथा व्यवस्थापक नवीन दाहालले शुभकामना दिँदै अपाङ्गता समावेशी विकासका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता र अवस्थाअनुसार पहुँच पुर्‍याउन संस्थाले गरिरहेको निरन्तरको खबरदारी, पैरवी र सेवाले समाजमा राम्रो छाप छोडेको बताए। उनले आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने धारणा राखे।
​कार्यक्रममा कोशी बहिरा महासंघका अध्यक्ष जीवन दाहाल, मानसिक पक्षघात (सीपी) सेन्टरकी अध्यक्ष/संयोजक गीता चौधरी (खवास) लगायतका अतिथिहरूको उपस्थिति थियो। उपस्थित अतिथिहरूले साधारणसभा सफलताको शुभकामना व्यक्त गरे।
​साधारणसभामा संस्थाले हालसम्म गरेका गतिविधिहरूको समीक्षा, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो। साथै, अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, सम्मान, समान अवसर, पहुँच, सहभागिता र आत्मनिर्भरता सुनिश्चित गर्दै समावेशी समाज निर्माण गर्न स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायबीच आपसी सहकार्य, समन्वय र एकताको आवश्यकतामा जोड दिइयो।
​संस्थाका सचिव लोकमणि पोखरेलले सञ्चालन तथा सदस्य राजु भट्टराईले सहजीकरण गरेको कार्यक्रमको उद्घाटन सत्रमा संस्थाकी सदस्य एवं कोशी प्रदेश मानव अधिकार रक्षक आकृति रानी फुयलले स्वागत मन्तव्य राखिन् भने कोषाध्यक्ष होमराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे।
​विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट एक सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारजनको उल्लेखनीय सहभागिता रहेको सभा अध्यक्ष पोखरेलले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै समापन गरे।

तपाईको प्रतिक्रिया