काठमाडौं। नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ हुने भएको छ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीको अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो।
बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहवरमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघतर्फबाट महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका थिए।
सम्झौता पत्रअनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्ने छ। महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व महासंघले गर्ने छ।
यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रुपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्नु र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिए।
मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिने छ। रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने छ।
त्यसैगरी, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिने छ। यसलाई दीगो रुपमा सञ्चालन गर्न महासंघले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउने छ।
मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइने छ। यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिने छ।
प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्तिको विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्वपूर्ण हुने विश्वास महासंघले लिएको छ।





