तस्बिरमा देखिएको जोडी मिनिस्टर बबरशमशेरका छोरा जनरल मृगेन्द्रशमशेर जबरा र उनकी रानी रुक्मणीदेवी राणाको हो। जनरल मृगेन्द्रशमशेर राणा खलकमा पहिलो एम.ए. हुन्। उनले कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए। महाराज पद्मशमशेरको पालासम्ममा राणाहरुमा ४ जना एम.ए. रहेकोमा उनी बाहेक जनरल हिरण्यशमशेरका छोरा जनरल सुवर्णशमशेर र महाराज मोहनशमशेरका छोराहरु जनरल शारदाशमशेर र जनरल विजयशमशेर थिए। पछि त्यसमा जनरल एकराजशमशेरका छोरा कर्णेल सुवर्णशमशेर थपिए। त्यसपछि अन्य थप हुँदै गए।
जनरल मृगेन्द्रशमशेरले लामो समय नेपालको शिक्षा विभागको महानिर्देशक (डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन) को जिम्मेवारी सम्हालेका थिए। सन् १९४८ मा एक्याफे सम्मेलनमा भाग लिन अष्ट्रेलिया पुग्ने प्रतिनिधिमण्डलका नेता थिए। उनी नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा तारामान सिंह स्वाँर र शाम्भदेव पाण्डे थिए। प्रथम र द्वितीय विश्वयुद्धमा युद्ध मोर्चमा सहभागी गोर्खाली सैनिक बाहेक त्यही टोली नै अष्ट्रेलिया र न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली टोली हो।
विसं २००५ सालमा महाराज मोहनशमशेरले गठन गरेको विश्वविद्यालय योजना सभाका अध्यक्ष समेत यिनै जनरल मृगेन्द्रशमशेर थिए। यिनका जेठा छोरा भरतशमशेरले गोर्खा दल पार्टी गठन गरेपछि राजनीतिमा संलग्न भएर सोही दलको उपाध्यक्ष सम्म पुगेका यिनी पनि २०१५ सालमा सम्पन्न निर्वाचनमा नेपाल राष्ट्रवादी गोर्खा परिषदबाट दोलखाबाट सांसद निर्वाचित भएका थिए।
जनरल मृगेन्द्रशमशेर र रानी रुक्मणिदेवीबाट ५ छोरा र २ छोरीको जन्म भयो। दुईवटै छोरीको भारतमा विवाह भयो। भर्खरै सम्पन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री उदयशमशेर राणा यिनै मृगेन्द्रशमशेरका नाती कान्छा छोरा सागरशमशेरका छोरा हुन्।





