काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। भाइटीकाका अवसरमा बुधवार प्रतियोगिताका खेल स्थगित गरिएपछि आज पुनः प्रतिस्पर्धा प्रारम्भ हुन लागेको हो। आज हुने दुवै खेलले अंकतालिकामा टोलीहरूको स्थान सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमने–सामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे प्रारम्भ हुने उक्त खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

प्रतियोगितामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको पोखरा एभेन्जर्सका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। पाँच खेल खेलिसकेको पोखराले हालसम्म एक खेलमा मात्र जित निकाल्दै दुई अंक जोडेको छ। अंकतालिकाको पुछारमा रहेको पोखरा आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ।

विराटनगर किङ्स पनि आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ। पाँच खेलबाट चार अंक जोडेको विराटनगर हाल अंकतालिकाको छैटौँ स्थानमा छ। पोखराविरुद्ध जित निकाल्न सके विराटनगरलाई अंकतालिकामा माथि उक्लिने अवसर प्राप्त हुनेछ।

त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल साँझ ५ बजे प्रारम्भ हुनेछ।

लुम्बिनी लायन्स प्रतियोगितामा राम्रो लयमा देखिएको टोली हो। पाँच खेल खेलेको लुम्बिनीले तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सात अंक जोडेको छ। एक खेल वर्षाका कारण नतिजाविहीन भएको अवस्थासहित लुम्बिनी अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। आज कर्णालीलाई पराजित गर्न सके लुम्बिनीले शीर्ष दुईमा पुग्ने सम्भावनालाई थप बलियो बनाउन सक्छ।

अर्कोतर्फ कर्णाली याक्सका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ। पाँच खेलबाट चार अंक जोडेको कर्णाली हाल अंकतालिकाको सातौँ स्थानमा छ। प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई बाँकी खेलमा जित निकाल्नु आवश्यक छ। त्यसैले लुम्बिनीविरुद्धको खेलमा कर्णाली दवाव र चुनौती दुवैका बीच मैदानमा उत्रिनेछ।

अंकतालिकामा काठमाडौं शीर्ष स्थानमा
एनपीएलमा हालसम्मका खेलको नतिजाअनुसार काठमाडौं गोर्खाज आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

त्यस्तै, ६ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। समान पाँच खेल खेलेको लुम्बिनी लायन्स सात अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा छ।

जनकपुर बोल्ट्स ६ खेलबाट चार अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ। त्यस्तै, विराटनगर किङ्स पाँच खेलबाट चार अंकसहित छैटौँ र कर्णाली याक्स पनि पाँच खेलबाट चार अंक जोड्दै सातौँ स्थानमा छन्। पाँच खेल खेलिसकेको पोखरा एभेन्जर्स भने दुई अंकसहित अंकतालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रहेको छ।

प्रतियोगिता अघि बढ्दै जाँदा प्लेअफ प्रवेशका लागि टोलीहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। आज हुने दुई खेलको नतिजाले पनि अंकतालिकाको समीकरणमा परिवर्तन ल्याउन सक्नेछ। विशेषगरी लुम्बिनी, विराटनगर र कर्णालीका लागि आजका खेल प्लेअफ यात्रालाई सहज बनाउने महत्वपूर्ण अवसरका रूपमा रहनेछन्।

तपाईको प्रतिक्रिया