काठमाडौं । काठमाडौं बाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको पहिचान भएको छ भने अन्य यात्रुको खोजी भइरहेको छ।
‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ। अरूको खोजी गर्दैछौँ। भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले साझा सरोकार डटकमलाई बताए।
दुर्घटनामा परेकाहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। दुर्घटनाग्रस्त माइक्रोबसको नम्बर खुल्न सकेको छैन।
प्रहरीका अनुसार उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनाको कारण र यात्रुको यकिन विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।





