काठमाडौं । चाडपर्वका समयमा ठूलो आवाज निकाल्दै सर्वसाधारणलाई सास्ती दिने स्वरूप परिवर्तन गरिएका ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वको समयमा नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले सञ्चालन गरिएको चेकजाँच तथा निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्।

काठमाडौंका विभिन्न स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर फेला पारेको थियो।

प्रहरीले ती सबै ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

चाडपर्वका बेला अनावश्यक ठूलो आवाज निकाल्ने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गर्दा सर्वसाधारणलाई असहज हुने र शान्तिसुरक्षामा समेत असर पर्न सक्ने भएकाले प्रहरीले चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया