सिन्धुली । सिन्धुलीमा ट्रक र स्कुटर एकआपसमा ठोक्किएपछि भएको आगलागीमा दुवै सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्।
शुक्रबार बिहान करिब ८ बजे कमलामाई नगरपालिका–८ स्थित करकरे सिन्धुरेपुलमा काठमाडौंबाट भीमानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको १२७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। स्कुटरको नम्बर प्लेटको अक्षर भने खुल्न सकेको छैन।
दुर्घटनापछि आगलागी हुँदा ट्रक र स्कुटर दुवै पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा स्कुटर चालक कमलामाई नगरपालिका–१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनका श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएका हुन्।अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ। बख्रेलको अनुहारमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। दुर्घटनापछि आगलागी हुनुको कारण भने खुल्न सकेको छैन।
सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुवै जलेर नष्ट, दम्पती घाइते





