काठमाडौँ, कात्तिक २० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पहिलो पटक ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ ।

तिहारको अवसर पारेर खाद्य कम्पनीले काठमाडौँको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

कम्पनीका अनुसार तीन दिनसम्म सञ्चालन हुने मेलामा मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणको व्यवस्था गरिने छ ।

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवम् स्थानीय उत्पादकको सहभागिता रहने जनाइएको छ । विशेषगरी स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने मेलामा २५ वटा प्रर्दशनीकक्ष रहने कम्पनीले जनाएको छ ।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल, माला तथा सजावटका सामग्री, परम्परागत पोसाक तथा हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा तथा परम्परागत सामग्री पाइनेछ ।

यस्तै, कृषि उपज तथा स्थानीय उत्पादन अन्य मौलिक, स्थानीय तथा स्वदेशी उत्पादन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतिस्टल पाँच हजार रूपियाँ तोकिएको मेलाको मुख्य आकर्षण रैथाने बाली रहनेछ । प्राप्त आवेदन तथा प्रस्तावको मूल्याङ्कन व्यावसायिक उपयुक्तता, उत्पादनको मौलिकता, गुणस्तर र मेलाको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा गरिने कम्पनीले जनाएको छ ।

स्टल सङ्ख्या सीमित रहेकाले समयमै आवेदन दिएर सहभागिता सुनिश्चित गर्न आयोजकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया