काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व धनत्रयोदशी अर्थात् धनतेरस आज शुक्रबार (२०८३ कार्तिक २० गते) विभिन्न धार्मिक विधि तथा परम्पराअनुसार मनाइँदैछ। कार्तिक कृष्णपक्षको द्वादशी तिथि बिहान ११ बजेर १० मिनेटसम्म रहने र त्यसपछि त्रयोदशी तिथि प्रारम्भ हुने भएकाले आज धनतेरस पर्व परेको हो। भोलि शनिबार कार्तिक २१ गते धन्वन्तरी जयन्ती तथा यमदीपदान गरिने धार्मिक परम्परा रहेको छ।

धनतेरसलाई धन, समृद्धि, आरोग्य र सुखशान्तिको कामना गर्ने विशेष दिनका रूपमा लिइन्छ। यस दिन भगवान धन्वन्तरी, माता लक्ष्मी र भगवान कुबेरको पूजा आराधना गर्ने चलन छ। धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान धन्वन्तरी अमृत कलशसहित प्रकट हुनुभएको थियो। त्यसैले उहाँलाई आयुर्वेद तथा आरोग्यका देवताका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। यस दिन नयाँ भाँडाकुँडा, सुनचाँदी तथा शुभ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र आर्थिक उन्नति हुने जनविश्वाससमेत रहेको छ।

धनतेरसको पूजाका लागि बिहानै स्नान गरी घर सफा गर्ने र पूजास्थललाई शुद्ध बनाएर भगवान धन्वन्तरीको आराधना गर्ने धार्मिक विधि छ। विशेषगरी घरको उत्तरपूर्वी भागमा पूजास्थल तयार गरी सूर्यदेव, गणेश, दुर्गा, शिव र विष्णुसहित पञ्चदेवको स्थापना गरेर पूजा गर्ने चलन छ। त्यसपछि भगवान धन्वन्तरीलाई धूप, दीप, चन्दन, अक्षता, बेसार, कुमकुम, फूल तथा नैवेद्य अर्पण गरी षोडशोपचार विधिबाट पूजा गरिन्छ। पूजाको अन्त्यमा दक्षिणा अर्पण गरी परिवारको आरोग्य, दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा रहेको छ।

यसैगरी धनतेरसको साँझ घरको मुख्य प्रवेशद्वार, आँगन तथा तुलसी मठमा दीप प्रज्वलन गर्ने चलन छ। विशेषगरी यमराजको नाममा दक्षिण दिशातर्फ फर्काएर दीपदान गर्नु यस पर्वको महत्त्वपूर्ण धार्मिक पक्ष मानिन्छ। धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन यमराजका निमित्त दीपदान गर्नाले परिवारमा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने र यमराज प्रसन्न हुने मान्यता छ। यस अवसरमा पाठ गरिने शास्त्रीय मन्त्रमा भनिएको छ, “मृत्युना पाशदण्डाभ्यां कालेन श्यामलया सह । त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ॥” यसको भावार्थ त्रयोदशीका दिन दीपदान गर्दा पाश र दण्ड धारण गर्ने सूर्यपुत्र यमराज आफ्नी शक्ति श्यामला र कालसहित प्रसन्न होऊन् भन्ने हो।

धनतेरससँग जोडिएको अर्को धार्मिक किंवदन्तीअनुसार भगवान विष्णुको श्रापका कारण माता लक्ष्मीले तेह्र वर्षसम्म एक किसानको घरमा बस्नुपरेको थियो। माता लक्ष्मीको उपस्थितिले किसानको घर धनधान्य र समृद्धिले भरिएको जनविश्वास छ। तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले उहाँलाई आफ्नो घरमै बसिरहन आग्रह गरेका थिए। त्यसपछि माता लक्ष्मीले त्रयोदशीका दिन घर सफा गरी दीप प्रज्वलन गरेर पूजा गर्न सुझाव दिनुभएको र सोही विधिअनुसार पूजा गर्दा किसानको घरमा धनसम्पत्ति र वैभव प्राप्त भएको धार्मिक कथन छ। यही घटनापछि धनतेरसमा लक्ष्मीको आराधना गर्ने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।

यमदीपदानसँग सम्बन्धित राजा हेमका छोराको कथा पनि उत्तिकै प्रचलित छ। पौराणिक कथाअनुसार राजा हेमका छोराको जन्मपछि ज्योतिषीहरूले विवाह भएको चौथो दिन सर्पदंशबाट उनको मृत्यु हुने भविष्यवाणी गरेका थिए। राजाले छोरालाई मृत्युबाट जोगाउन सुरक्षित स्थानमा राखे पनि संयोगवश उनको विवाह भयो। विवाहको चौथो दिन भविष्यवाणीअनुसार राजकुमारको मृत्यु भएपछि उनकी नवविवाहित पत्नीले गरेको विलापले यमदूतहरूको मनसमेत विचलित बनाएको कथामा उल्लेख छ। यमलोक पुगेपछि एक यमदूतले यमराजसँग अकाल मृत्युबाट बच्ने उपायबारे जिज्ञासा राखेका थिए। त्यसको जवाफमा यमराजले कार्तिक कृष्ण त्रयोदशीका दिन साँझ दक्षिण दिशातर्फ फर्काएर आफ्नो नाममा श्रद्धापूर्वक दीपदान गर्ने व्यक्तिको घरमा अकाल मृत्युको भय नहुने वरदान दिएको धार्मिक मान्यता छ। यही विश्वासका आधारमा यमदीपदान गर्ने परम्परा चलिआएको बताइन्छ।

धार्मिक परम्पराअनुसार यस दिन कौडा, कमलगट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउने चलनसमेत छ। यस्ता सामग्रीलाई लक्ष्मीपूजाका दिन पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुने, आर्थिक अभाव हट्ने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ। धनतेरस केवल धनसम्पत्ति खरिद गर्ने पर्व मात्र नभई स्वास्थ्य, दीर्घायु, पारिवारिक सुख, समृद्धि र सकारात्मक जीवनको कामना गर्ने धार्मिक तथा सांस्कृतिक अवसरका रूपमा समेत लिइन्छ।

धार्मिक सामग्री तथा जानकारी : पं. बालमुकुन्द देवकोटा

तपाईको प्रतिक्रिया