स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले चालु सिजनका लागि १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो आलुको बीउ उपलब्ध गराएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार कृषकलाई जनकदेव र खुमल सेतो जातका आलुको बीउ वितरण गरिएको छ । कुल बीउमध्ये ८० हजार ५० किलो जनकदेव र २५ हजार ३५० किलो खुमल सेतो जातको रहेको छ ।
कृषकलाई आलु उत्पादनमा प्रोत्साहन गर्दै नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले विगतदेखि नै अनुदानमा बीउ वितरण गर्दै आएको सुवेदीले बताए । यस वर्ष वितरण गरिएको बीउ गल्याङ नगरपालिकास्थित भगवती कृषक समूहबाट प्रतिकिलो ५९ रुपैयाँका दरले खरिद गरिएको हो ।
नगरपालिकाले बीउ खरिदका लागि कुल ६२ लाख १८ हजार ६०० रुपैयाँ खर्च गरेको जनाएको छ । खरिद मूल्यको ५० प्रतिशत अनुदानमा कृषकलाई बीउ उपलब्ध गराइएको हो ।
वडागत रूपमा सबैभन्दा बढी वडा नम्बर ३ मा १९ हजार किलो आलुको बीउ वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ५ मा १३ हजार २६० किलो, वडा नम्बर १४ मा १२ हजार ३०० किलो, वडा नम्बर ७ मा नौ हजार ८११ किलो र वडा नम्बर १३ मा नौ हजार ३२२ किलो बीउ वितरण गरिएको छ ।
यसैगरी वडा नम्बर ४ मा आठ हजार ५०० किलो, वडा नम्बर ११ मा आठ हजार ६५ किलो, वडा नम्बर १ मा छ हजार ३१४ किलो, वडा नम्बर ८ मा चार हजार ५१ किलो, वडा नम्बर १२ मा तीन हजार ६२० किलो, वडा नम्बर २ मा तीन हजार ५५९ किलो, वडा नम्बर ६ मा तीन हजार ४८६ किलो, वडा नम्बर ९ मा दुई हजार ६०० किलो र वडा नम्बर १० मा ९०८ किलो बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । पालिका कार्यालयमार्फत थप ६०४ किलो बीउको मागसमेत पूरा गरिएको छ ।
कृषकलाई अनुदानमा आलुको बीउ हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कृषि उत्पादनमा सक्रिय कृषकलाई सहयोग र प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उत्पादनमा लागेका कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने नीति नगरपालिकाले लिएको उनको भनाइ छ ।





