संखुवासभा । कार्तिक १६ गतेदेखि सुरु भएको संखुवासभा गोल्डकपअन्तर्गत बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले उपाधि दाबेदारी प्रस्तुत गरेको हो ।
खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि अर्थात् १७औँ मिनेटमा सविन राईले अर्को गोल थप्दै सेकाहाको अग्रता दोब्बर बनाए ।
दुई गोलले पछि परेको लोहरुङ क्लब पाङ्माले खेलमा फर्किने प्रयास गरेको थियो । सोही क्रममा ७७औँ मिनेटमा मिलन राईले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, खेलको ८०औँ मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गरेपछि सेकाहाको जित सुनिश्चित भएको थियो ।
यस जितसँगै सेकाहाले शुक्रबार दिउँसो हुने फाइनलमा उपाधिका लागि सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यू स्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको विजेता हो । आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) का अध्यक्ष प्रकाश घिमिरेले फाइनल खेल शुक्रबार दिउँसो हुने जानकारी दिए ।
प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यू स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





