प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक २० गते । लोपोन्मुख राउटे समुदायले खाद्यान्न, सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, नाम्रास्थित राउटे बस्तीमा पुग्नुभएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समुदायका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बस्तीमा पुगेर मन्त्री बादीले राउटे समुदायका सदस्यसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । उहाँले बालबालिकासँग समेत भेट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिनुभएको थियो ।
छलफलका क्रममा राउटे मुखिया डिलबहादुर शाहीले समुदायका लागि खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको व्यवस्था गर्न माग गर्नुभयो । राउटे युवती सम्झना शाहीले अन्य नागरिकसरह सुरक्षित रूपमा बसोबास गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । त्यस्तै, गाजली शाहीले समुदायले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो ।
मन्त्री बादीले राउटे समुदायले परम्परागत सीपबाट उत्पादन गरेका काठका सामग्रीको बजार व्यवस्थापन तथा खरिदका लागि पहल गर्ने बताउनुभयो । समुदायका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी योजना तथा कार्यक्रममा समेट्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
राउटे समुदायका बालबालिका तथा सदस्यहरूको अवस्थाप्रति चासो व्यक्त गर्दै उहाँले उनीहरूको जीवनयापनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो ।
राउटे समुदायको स्वास्थ्य, सरसफाइ तथा सामाजिक अन्तरघुलनका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक गरी चार जना परिचालन गरेको छ । सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले संस्थाले राउटे समुदायको स्वास्थ्य तथा सामाजिक संरक्षणका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।
बनगाड कुपिण्डे नगरपालिका–१, नाम्रास्थित उक्त बस्तीमा हाल १३० जना राउटे बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ७१ महिला र ५९ पुरुष छन् । समुदायमा ५१ जना बालबालिका र २३ जना एकल महिला रहेको विवरण छ ।
राउटे समुदाय परम्परागत जीवनशैली, संस्कृति र काठका सामग्री निर्माण गर्ने पेसाका लागि परिचित नेपालको लोपोन्मुख समुदाय हो । उनीहरू दैलेख, सुर्खेत र सल्यानलगायत जिल्लाका विभिन्न क्षेत्रमा बसाइँ सर्दै बसोबास गर्ने गर्छन् । पछिल्लो समय खाद्यान्न, आवास, स्वास्थ्य र जीविकोपार्जनका चुनौती उनीहरूका प्रमुख समस्या बनेका छन् ।
मन्त्री बादीलाई बस्तीमा स्वागत गर्दै राउटे बालबालिकाले उहाँको नाम लेखेर मायाको चिनोसमेत प्रदान गरेका थिए । पछिल्लो समय राउटे बालबालिका साक्षरतर्फ आकर्षित हुँदै गएका छन् ।
-गोरखापत्र अनलाइन बाट साभार





