झापा : झापाको कनकाई नगरपालिका–४ टेक्राका ३१ वर्षीय तुलसी पराजुलीको सुतेकै अवस्थामा मृत्यु भएको छ। बुधबार राति आफ्नै घरमा सुतेका पराजुलीलाई परिवारका सदस्यले बेहोस अवस्थामा फेला पारेका थिए। तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइए पनि चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
प्रारम्भिक जानकारीअनुसार पराजुली साँझ करिब ७ बजे खाना खाएर घरबाहिर घुम्न निस्किएका थिए। राति करिब ९ बजे घर फर्किएपछि आफ्नै कोठामा गएर सुतेका थिए। राति ९ः४५ बजेतिर परिवारका सदस्यले उनलाई बेहोस अवस्थामा फेला पारेका थिए।
उनको शव बीएण्डसी अस्पतालकै शवगृहमा राखिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद सापकोटाको नेतृत्वमा टोली खटिएको थियो।
प्रहरीले घटनास्थलको अवस्था र परिवारका सदस्यसँग सोधपुछ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





