अस्मिता सिंखडा
गोरखा, कात्तिक २० गते । सरकारी सेवाबाट अवकाश पाएपछि अधिकांश मानिस आराम गरेर समय बिताउने सोचमा हुन्छन् । तर, गोरखाका रुद्रबहादुर बस्नेत भने अवकाशपछिको समयलाई उत्पादनमूलक बनाउँदै कृषि कर्ममा रमाउनुभएको छ ।
प्रहरी सेवाबाट अवकाश लिएपछि उहाँले आफ्नै गाउँको बाँझो जमिनमा कृषि गरेर आम्दानी गर्ने बाटो रोज्नुभएको छ ।
भीमसेनथापा गाउँपालिका–१, मसेलका ४३ वर्षीय बस्नेत अहिले व्यावसायिक फूलखेती र कफीखेतीमा सक्रिय हुनुहुन्छ । लामो समयदेखि बाँझो रहेको जमिनलाई पुनः उपयोगमा ल्याउँदै उहाँले यसपटक तिहारलाई लक्षित गरी ६ रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ ।
यतिबेला घर नजिकैको बारीभरि पहेँलै फुलेका सयपत्री फूलको मनमोहक दृश्यले उहाँलाई एकैछिन पनि बारी छाड्न मन लाग्दैन । करिब एक लाख रुपियाँ लगानीमा फूलखेती सुरु गर्नुभएका उहाँले राम्रो आम्दानी गर्ने लक्ष्य लिनुभएको छ ।
तिहारमा सयपत्रीको माग बढी हुने भएकाले यसपटक तिहारलाई लक्षित गरेर खेती गरेको उहाँले बताउनुभयो । फूलखेतीसँगै कफीखेतीलाई पनि व्यावसायिक रूपमा अघि बढाइरहेको बस्नेतको भनाइ छ ।
“१७ बर्षसम्म देशको सुरक्षा गरेर अवकाशपछि खाली बस्नुभन्दा उत्पादनमूलक काममा लाग्नुपर्छ भन्ने सोचले व्यावसायिक कृषिमा लागेको हुँ,” बस्नेतले भन्नभुयो । गाउँमा खेतीयोग्य जमिन बाँझै रहने तर बजारमा कृषि उपजको माग भइरहने अवस्था देखेर विदेश जानुभन्दा कृषिकर्म रोजेको उहाँले बताउनुभयो ।
“अवकाशपछि अब के गर्ने भन्ने सोच आउँथ्यो । उमेर छ, केही न केही त गर्नुपर्छ भन्ने लाग्यो । विदेश जाने सोच आएन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर कृषिकर्म रोजेँ,” उहाँले भन्नुभयो ।
अहिले तिहारलाई लक्षित गरी सयपत्रीको खेती गरे पनि अब बेमौसमी फूलखेतीसमेत विस्तार गर्ने योजना रहेको बस्नेतले सुनाउनुभयो । चाडपर्वमा मात्र सीमित नभई वर्षभरि फूल उत्पादन गर्न सके आम्दानीको दिगो स्रोत बनाउन सकिने उहाँको विश्वास छ ।
“फूलखेती आम्दानीको माध्यम मात्र होइन, खेर गइरहेको बाँझो जमिनलाई उत्पादनसँग जोड्ने प्रयास पनि हो,” बस्नेतले भन्नुभयो । उहाँका अनुसार फूलखेतीको राम्रो सम्भावना भए पनि किसानलाई प्रोत्साहन गर्न नसक्दा जिल्लामा व्यावसायिक फूलखेतीलाई अझै अघि बढाउन सकिएको छैन ।
कृषि विकास कार्यालय गोरखाका सूचना अधिकारी सुमन भट्टराईका अनुसार जिल्लामा कुल ८ हजार ५ सय ८६ रोपनी क्षेत्रफलमा फूलखेती हुँदै आएको छ । जिल्लाको शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिका र भीमसेनथापा गाउँपालिकामा फूलखेती बढी हुने गरेको उहाँले बताउनुभयो ।
यस वर्ष जिल्लामा करिब ४४ लाख रुपियाँ बराबरको फूल बिक्री हुने अनुमान गरिएको भट्टराईले जानकारी दिनुभयो । उपयुक्त हावापानी भएकाले अनुकुल मौसममा जिल्लामा व्यावसायिक फूलखेतीको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।
– गोरखापत्र अनलाइनबाट साभार





