पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रमअनुसार ६ प्रकारका सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रले इच्छुक नेपाली नागरिकलाई तालिममा सहभागी हुन आवेदन दिन आग्रह गर्दै सूचना सार्वजनिक गरेको छ । तालिमका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार वेटर तथा वेट्रेस, केयर गिभर, कुक, बारिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गरिनेछ । प्रत्येक तालिममा २० जनाका दरले कुल १२० जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ । वेटर तथा वेट्रेस, केयर गिभर, कुक र बाल विकास सहजकर्ता तालिमको अवधि ३२० घण्टा तोकिएको छ भने बारिस्ता र सहायक ब्युटिसियन तालिम १६० घण्टाको हुनेछ ।
तालिममा सहभागी हुन आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताअन्तर्गत वेटर तथा वेट्रेस तालिमका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ । केयर गिभर, कुक, बारिस्ता र सहायक ब्युटिसियन तालिमका लागि एसएलसी वा एसईई उत्तीर्ण हुनुपर्ने व्यवस्था छ। बाल विकास सहजकर्ता तालिममा सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिन इच्छुक व्यक्तिले सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति, फोटो दुई प्रति र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। आवेदन फाराम व्यवसाय प्रवर्द्धन केन्द्रको वेबसाइट https://bpc.pokharamun.gov.np/vacancy/trainings/ बाट डाउनलोड गर्न सकिनेछ। आवश्यक कागजातसहित २०८३ कात्तिक ३० गते कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
तालिमका लागि आवेदन दिएका व्यक्तिमध्ये अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनोट गरिनेछ। अन्तर्वार्ता २०८३ मंसिर ३ र ४ गते बिहान १०ः३० बजे व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृहमा हुने जनाइएको छ। आवेदन सङ्ख्या आवश्यक सङ्ख्याभन्दा कम भएमा तालिम सञ्चालन गर्ने वा नगर्ने निर्णय केन्द्रले गर्नेछ ।





