झापा । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड ७१ लाख ७२ हजार ९७५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा उक्त क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोजमा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । विभिन्न स्थानमा भएका १२ वटा आगलागीका घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण र आगोको प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन पनि प्रहरीले सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया