इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बान्द्रेटोलस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। बन्दुक लुकाएर राखेको आरोपमा प्रहरीले ५० वर्षीय घरधनी मंगल सिंह राईलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घरमा हातहतियार लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि सोमबार साँझ प्रहरी टोलीले खानतलासी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले राईको घरमा खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाएर राखिएको एक नाले भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीले बन्दुक बरामद गर्नुका साथै राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ। इन्स्पेक्टर विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया