पोखरा। पोखरा पर्यटन परिषद्ले पर्यटकीय राजधानी पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन विकास र समृद्धिका लागि आवश्यक नीतिगत तथा पूर्वाधारगत पहल गर्न प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष १० बुँदे माग पेस गरेको छ।

परिषद्का अध्यक्ष हरि भुजेलको नेतृत्वमा परिषद आवद्ध संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थितीमा पोखरामा सभामुखलाई बुझाएको हो। १० बुँदे मागमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान सञ्चालन, पर्यटन पूर्वाधार विकास तथा व्यवसायीले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको छ।

माग पत्रमा गत असोज ७ गते अर्थात् सेप्टेम्बर २३, २०२६ देखि फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेपछि त्यसको निरन्तरता सुनिश्चित गर्न तथा नेपाल वायुसेवा निगमलाई समेत पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल गर्न माग गरेको छ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुका लागि श्रम स्वीकृति, भिसा प्रक्रियालगायत आवश्यक सेवा पोखराबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरिएको छ। पोखराबाट नेपालका अन्य छ प्रदेश तथा विभिन्न गन्तव्यमा सीधा हवाई उडान विस्तार गर्नुपर्ने परिषद्को माग छ।

परिषद्ले वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ अन्तर्गतका व्यवस्थाका कारण पहिले नै सञ्चालनमा रहेका होटल व्यवसायको नवीकरणमा परेको प्रभावलाई ध्यानमा राख्दै नवीकरण प्रक्रिया सहज बनाउन माग गरेको छ।

पोखरा–६ लेकसाइडका होटल तथा व्यावसायिक भवनको सम्पन्नता प्रमाणपत्र र अभिलेखीकरणमा लाग्ने करमा सहुलियत दिन पनि आग्रह गरेको छ। माग पत्रमा गण्डकी प्रदेशको मुस्ताङस्थित कोरला नाकालाई चलायमान बनाई कैलाश मानसरोवर तथा मुक्तिनाथ-दामोदरकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न साथै कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन राजमार्गको काम यथाशीघ्र सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै, सडक विस्तारसँगै हराउँदै गएका पुराना पदमार्गको संरक्षण, मर्मतसम्भार तथा नयाँ पदयात्रा गन्तव्यको खोजी र विकास गर्न परिषद्ले आग्रह गरेको छ। पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको आकर्षण कायम राख्न पदमार्ग संरक्षण आवश्यक रहेको उल्लेख गरिएको छ।

परिषद्ले पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको संरक्षणमा रहेको रत्नमन्दिर परिसरलाई संग्रहालयका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्न माग गरेको छ। फेवाताल संरक्षणका साथै तालको वरिपरि ‘राउन्ड फेवा फुट ट्रेल’ निर्माणका लागि आवश्यक पूर्वाधार विकास गर्न पनि परिषद्ले आग्रह गरेको छ।

व्यवसायीले तिर्नुपर्ने कर तथा राजश्व एकद्धार प्रणालीबाट संकलन गर्ने व्यवस्था मिलाएर व्यवसायी मैत्री कर प्रणाली बनाउनसमेत आग्रह गरेको छ। पोखरा पर्यटन परिषद अन्तर्गत १४ वटा विभिन्न क्षेत्रगत पर्यटन संघसंस्थाहरु आवद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया