काठमाडौं। प्रहरीले कलंकीस्थित सांसद उर्मिला थपलियाको डेराबाट दसैंको बिदामा कोही नभएको मौका पारेर ८ तोला सुन र ८० हजार नगद चोरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीय विणा देवी छन् ।

सो समूहले कात्तिक ६ मा काठमाडौं महानगर–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा पनि चोरी गरेको अनुसन्धानले देखाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सुनचाँदीका गरगहना बरामद गरेको छ।

उक्त समूहबाट चोरी भएको २३ ग्राम तौलको सुनको सिकी थान–३, सुनका बाला, सुन निर्मित कछुवाको मूर्ति, सरस्वतीको मूर्ति, धातुको गणेश र लक्ष्मीको मूर्ति, पाउजु, सिरबन्दी, औंठी, ब्रासलेट, १६ वटा मोबाइललगायत प्रहरीले बरामद गरेको छ।

घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो। थपलिया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्।

तपाईको प्रतिक्रिया