रौतहट । वर्षौँदेखि अधुरो रहेको रौतहटको लालबकैया नदीमाथिको टिकुलियाघाट पुलले अन्तत: पूर्णता पाउने आशा जगाएको छ । लामो समयसम्म निर्माण अलपत्र परेपछि नयाँ ठेक्कामार्फत अघि बढाइएको पुलको काम अहिले अन्तिम चरणमा पुगेको छ । आवश्यक बजेट समयमै उपलब्ध भएमा २०८३ चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गौर नगरपालिका ४ स्थित टिकुलियाघाटमा निर्माणाधीन पुलका मुख्य संरचना तयार भइसकेका छन् । पुलका सबै ६ वटा स्पान निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्ट जडानको काम पनि सकिएको छ । अब एप्रोच रोड र नदी नियन्त्रणका लागि आवश्यक रिभर ट्रेनिङको काम बाँकी छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । तर, वित्तीय प्रगति भने करिब ५० प्रतिशतमा सीमित छ । निर्माणका लागि आवश्यक थप बजेट समयमै उपलब्ध हुन सके बाँकी काम निर्धारित समयभित्र पूरा गर्न सकिने कार्यालयको अपेक्षा छ ।
बजेट आएपछि निर्माणले समात्यो गति
लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको यो पुल चालु आर्थिक वर्षमा बजेट विनियोजन भएपछि निर्माणको गतिमा आएको हो । पुल निर्माणका लागि भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपैयाँमा २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभी, काठमाडौँसँग सम्झौता गरिएको थियो ।
निर्माणस्थलमा अहिले पुलका मुख्य संरचनासम्बन्धी काम पूरा भइसकेका छन् । सडक डिभिजन कार्यालयसँग हाल आठ करोड रुपैयाँ बजेट रहेको र बाँकी काम सम्पन्न गर्न थप रकम आवश्यक पर्ने जनाइएको छ ।
पुलको संरचना तयार भए पनि सडकसँग जोड्ने पहुँच मार्ग र नदी नियन्त्रणसम्बन्धी काम बाँकी रहेकाले तत्कालै पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था भने बनिसकेको छैन । यी काम सम्पन्न भएपछि मात्रै पुलबाट आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
ठेक्का लाग्यो, तर वर्षौँसम्म बनेन पुल
टिकुलियाघाट पुलको निर्माण कथा नयाँ होइन । यसअघि पनि पुल बनाउन ठेक्का लागेपछि स्थानीय बासिन्दाले छिट्टै आवागमन सहज हुने आशा गरेका थिए । तर, निर्माण कम्पनीले निर्धारित समयभित्र काम पूरा नगरेपछि आयोजना लामो समयसम्म अलपत्र परेको थियो ।
२०७१ असार २९ गते पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माणको सम्झौता भएको थियो । २०७४ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाका लागि तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाले २० करोड ७२ लाख रुपैयाँ लागत अनुमान गरेको थियो ।
२२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पक्की पुल निर्माण गर्न आह्वान गरिएको बोलपत्रमा पप्पु कन्स्ट्रक्सनले लागत अनुमानभन्दा २८ प्रतिशत कम अर्थात् १४ करोड ९३ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, सम्झौता अवधिमा निर्माण सम्पन्न हुन सकेन र पुल अलपत्र अवस्थामा रह्यो ।
पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणमा अपेक्षित प्रगति नभएपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो ।
२०७९ माघ ६ गते ठेक्का तोड्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । पछि सम्झौताका सर्तअनुसार २०८० असार १५ गते ठेक्का तोडिएको थियो र निर्माण कम्पनी कालोसूचीमा परेको थियो ।
पुरानो ठेक्का तोडिएपछि नयाँ निर्माण कम्पनीमार्फत आयोजना अघि बढाइएको हो । अहिले पुलको मुख्य संरचना तयार भएसँगै वर्षौँदेखि अधुरो रहेको आयोजना पूरा हुने सम्भावना बढेको छ ।
पुल बनेपछि गौर–औरैया आवागमन सहज हुने अपेक्षा
लालबकैया नदीमाथिको टिकुलियाघाट पुल गौर र औरैयालगायत क्षेत्रको आवागमनका लागि महत्त्वपूर्ण मानिन्छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न सहज हुने र यातायात सञ्चालनमा सुधार आउने अपेक्षा गरिएको छ ।
लामो समयदेखि अधुरो पुलका कारण प्रभावित हुँदै आएको स्थानीय आवागमनलाई सहज बनाउन अब बाँकी निर्माण कार्य पूरा हुनु आवश्यक छ । विशेष गरी पहुँच मार्ग निर्माण र नदी नियन्त्रणको काम समयमै सम्पन्न हुन सके पुल सञ्चालनको बाटो खुल्नेछ ।
तर, भौतिक प्रगति ८० प्रतिशत पुगे पनि वित्तीय प्रगति करिब ५० प्रतिशत मात्रै हुनु र थप बजेट आवश्यक पर्नुले आयोजनाको समयमै सम्पन्न हुने विषयलाई बजेट उपलब्धतासँग जोडेको छ ।
वर्षौँको प्रतीक्षापछि पुलको मुख्य संरचना तयार भएको अवस्थामा अब स्थानीयको अपेक्षा एउटै छ- बाँकी कामले निरन्तरता पाओस्, बजेट अभावले आयोजना फेरि नरोकिनोस् र टिकुलियाघाट पुलबाट सुरक्षित तथा सहज आवागमनको सुविधा छिट्टै उपयोग गर्न पाइयोस् ।





