खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गरेका थिए। घटनामा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन्।

घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल, दुर्छिममा उपचार भइरहेको छ। गम्भीर घाइते अञ्जना, सेवन्ता र टेमिनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। नरेन्द्रको अवस्था भने सामान्य रहेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनापछि फरार भएका आरोपित नइन्द्रकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विवाद भएपछि घटना भएको हो। आरोपित नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया