सिराज खान
नेपालगन्ज, कात्तिक ७ गते । बाँकेमा दुई वटा कार एक आपसमा ठोक्किंदा शनिवार एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार बिहान विपरीत दिशाबाट आइरहेका दुई कार एकआपसमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रतितसिंह राठौरले बताउनुभयो ।
उहाँका अनुसार घाइते शाहीलाई उपचारका लागि नेपालगन्ज लगिएकोमा बिहान १०ः०८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ । सो कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । उहाँको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते हुनुभएको सूचना अधिकारी राठौरले बताउनुभयो । उहाँहरूको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उक्त कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियार निवासी करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उहाँलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०ः१५ बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





