धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। स्थानीयवासीको श्रमदान, दाताहरूको सहयोग र उपमहानगरपालिकाको सहकार्यमा विकास गरिएको यो पार्क धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको हो।

केही वर्षअघिसम्म सुनसान र उजाड देखिने सर्दु–खर्दु खोला क्षेत्रको बगर अहिले विभिन्न आकर्षक संरचना, बगैँचा, विश्रामस्थल र पानीको फोहराले सजिएको छ। पूर्व नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा अघि बढाइएको श्रमदान अभियानले यस क्षेत्रको स्वरूप परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको हो।

पार्कमा रक गार्डेन, रोज गार्डेन, गोर्खा चौतारी, आरा धरानको प्रतिमा तथा विभिन्न सांस्कृतिक संरचनाहरू रहेका छन्। धरानको नामसँग जोडिएको परम्परागत काठ चिर्ने आरा र धरान बनाउने प्रक्रियालाई झल्काउने प्रतिमाले यहाँको ऐतिहासिक पहिचानसमेत उजागर गरेको छ।

हरियाली वातावरण, आकर्षक संरचना र खोलाको किनारमा रहेको प्राकृतिक सौन्दर्यका कारण धरानसहित इटहरी, धनकुटा, मोरङ, झापा तथा अन्य जिल्लाबाट पर्यटकहरू यहाँ घुम्न आउने गरेका छन्। बिदाका दिनमा परिवार तथा साथीभाइसँग घुम्न आउने र फोटो खिच्नेहरूको चहलपहल बढ्ने गरेको छ।

श्रम संस्कृति पार्कले पर्यटन प्रवर्द्धनसँगै आसपासका साना व्यवसायलाई समेत सहयोग पुर्‍याएको छ। पार्क क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै खाजा घर तथा अन्य व्यवसाय सञ्चालन गर्ने स्थानीयलाई आर्थिक गतिविधि विस्तार गर्ने अवसर मिलेको छ।

गोरखापत्र दैनिकमा प्रकाशित विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार ९ गतेसम्म पार्कबाट एक करोड १९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको थियो भने सञ्चालन तथा व्यवस्थापनमा ४४ लाख ८६ हजार १४२ रुपैयाँ खर्च भएको थियो।

स्थानीयको सामूहिक प्रयासबाट निर्माण भएको श्रम संस्कृति पार्कले श्रमदानमार्फत सार्वजनिक क्षेत्रको विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। यसको दीर्घकालीन संरक्षण, व्यवस्थित व्यवस्थापन र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न सके धरानको पर्यटन विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

तस्बिर : सन्जिप तिम्सिना , बोल नेपाल डट कमको सहयोगमा 

तपाईको प्रतिक्रिया