रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार करिब साढे ५ बजे स्वारा बस्ने बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरनजिकै बाटोमा खेलिरहेको बेलामा ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।
भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पुर्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





