क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाले नेपालीहरूको महान् चाडपर्व बडादसैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्ष इन्द्र नारायण लिम्बुद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

विज्ञप्तिमा नेपाली मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराका प्रतीक यी चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, सहिष्णुता, एकता र सामाजिक समरसतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। साथै नयाँ वर्ष नेपाल संवत् ११४७ ले नवीन सोच, सकारात्मक ऊर्जा र समृद्धिको नयाँ मार्ग प्रशस्त गरोस् भन्ने कामनासमेत गरिएको छ।

प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त, सहयोगको आह्वान

चाडपर्वको खुसीसँगै पछिल्लो समय नेपालमा आएको प्राकृतिक विपत्ति र त्यसबाट प्रभावित नागरिकहरूले भोग्नुपरेको दुःख, जनधनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ। विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यस कठिन घडीमा चाडपर्वको खुसीसँगै विपत्तिमा परेका नेपालीहरूको पीडालाई आत्मसात् गर्दै मानवीय सहयोग, सहकार्य र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न संघले सम्पूर्ण नेपाली समुदायमा हार्दिक आह्वान गरेको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबीचको एकता र सहयोगले नै विपत्तिको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास संघले लिएको छ।

मलेसियामा कार्यरत सम्पूर्ण नेपालीहरूको हकहित, एकता र कल्याणका लागि सधैँ प्रतिबद्ध रहने पुनरोच्चारण गर्दै एनआरएनए मलेसियाले नेपाल र नेपालीको सुख, शान्ति, सुशासन र समृद्धिको कामना गरेको छ।

तपाईको प्रतिक्रिया