३ कात्तिक, काठमाडौं । बडादशैंको नवमीका दिन आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
राजधानी काठमाडौंस्थित भद्रकाली मन्दिर परिसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ। चालक तथा सवारीधनीहरूले आफ्ना मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत सवारीसाधन मन्दिर परिसरमा ल्याएर पूजा गरेका छन्। उनीहरूले सवारीसाधनमा टीका लगाउनुका साथै प्रसाद ग्रहण गरेका छन्।
महानवमीका दिन सवारीसाधन तथा औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने र व्यवसायमा प्रगति हुने धार्मिक विश्वास छ। त्यसैले यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले यस दिन विशेष रूपमा पूजा गर्ने गर्छन्।
पूजा गर्न आउनेहरूको चहलपहल बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा बिहानैदेखि सवारीसाधनको आवागमनसमेत बढेको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी





