इटहरी । इटहरी उपमहानगरपालिका–२ स्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न आशिष राई सहयोगार्थ पाँचौं मनसुन कप फुटबल प्रतियोगिता २०८३ को उपाधि तरहरा युनाइटेड क्लबले जितेको छ।
कार्तिक २ गते सम्पन्न रोमाञ्चक फाइनल खेलमा शान्तिनगर फुटबल क्लब (ब्लु) लाई ४–३ गोल अन्तरले पराजित गर्दै तरहरा युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै तरहराले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्दा उपविजेता शान्तिनगर ब्लुले ३० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझायो।
तरहराको जितमा सेसेहाङ लिम्बुले दुई गोल गरे। उनले खेलको आठौं मिनेट र दोस्रो हाफको २१औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, असीम राईले ३१औं मिनेटमा र कालीबहादुर थापाले दोस्रो हाफको आठौं मिनेटमा एक–एक गोल गरे।
शान्तिनगर ब्लुका निशकुमार श्रेष्ठले खेलको तेस्रो र ३३औं मिनेटमा दुई गोल गरे भने सौराज राउतले दोस्रो हाफको २०औं मिनेटमा एक गोल थपे। प्रतिस्पर्धात्मक खेलमा तीन गोल गरे पनि शान्तिनगरले हार टार्न सकेन।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तरहरा युनाइटेडका कालीबहादुर थापा घोषित भए। उनले नगद ३ हजार १०० रुपैयाँ र ट्रफी प्राप्त गरे। तरहराकै सन्देश चौधरी उत्कृष्ट गोलकिपर र असीम राई उत्कृष्ट फरवार्ड घोषित भए।
त्यस्तै, शान्तिनगर ब्लुका बिकु राई उत्कृष्ट डिफेन्डर र जोलिन राई उत्कृष्ट मिडफिल्डर बने। प्रतियोगिताभर ६ गोल गरेका निशकुमार श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए भने फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ तरहराका सेसेहाङ लिम्बु बने।
राइजिङ प्लेयर विधामा शुभाहाङ राई, दिलिप मगर र शुभम राई संयुक्त रूपमा उत्कृष्ट घोषित भए। उनीहरूले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। प्लेयर अफ द म्याचले १ हजार ५०० रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार १०० रुपैयाँ र ट्रफी प्राप्त गरेका थिए।
फाइनल खेलका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधवप्रसाद कोइराला रहेका थिए।





