विराटनगर । स्वदेशी उत्पादनको प्रवर्द्धन तथा ग्राहकलाई गुणस्तरीय बेड र म्याट्रेस उपलब्ध गराउने उद्देश्यले विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ। करिब एक करोड रुपैयाँ लगानीमा स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको हो।
स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि उपयोगी सामग्री उपलब्ध छन्। ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका उत्पादन पाइने सञ्चालकले बताएका छन्।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको महत्वलाई ध्यानमा राखेर स्टुडियो सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार दैनिक आठ घण्टा आराम गर्ने ओछ्यानलाई अझै पर्याप्त प्राथमिकता दिने गरिएको छैन। कम्पनीले विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउने लक्ष्य राखेको उहाँले बताउनुभयो। कम्पनीका उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको हो। विराटनगरका सञ्चालक दिवश बजगाईंले बेड तथा म्याट्रेसलाई मात्र केन्द्रमा राखेर स्थापना गरिएको यो स्टुडियो नेपालकै पहिलो भएको दाबी गर्नुभयो। ग्राहकको मागअनुसार आगामी दिनमा लगानी थप गर्दै व्यवसाय विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
स्टुडियोको उद्घाटन गर्दै अध्यक्ष राउतले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो। स्वदेशमै उत्पादित वस्तुको प्रयोगले स्थानीय उद्योगको विकाससँगै रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने उहाँको भनाइ थियो। विराटनगरमा नयाँ स्टुडियो सञ्चालनमा आउनुले स्थानीय बजारमा सेवा विस्तार र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।
स्टुडियोले विराटनगरसहित आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र गुणस्तरका बेड तथा म्याट्रेस उपलब्ध गराउने जनाएको छ।





