बाणगगा । नेपालीहरूको महान् पर्व बडादसैँ धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक भेटघाट र मनोरञ्जनसँग जोडिएको छ। दसैँ भन्नेबित्तिकै टीका, जमरा, नयाँ लुगा, मीठो परिकार र गाउँघरमा हालिने लिङ्गे पिङको सम्झना धेरैको मनमा आउँछ। तर पछिल्ला वर्षहरूमा दसैँसँग जोडिएका यस्ता मौलिक परम्परा बिस्तारै परिवर्तन हुँदै गएका छन्। कुनै समय गाउँघरमा दसैँको रौनक थप्ने लिङ्गे पिङ अहिले भने कमै देखिन थालेको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा पनि लिङ्गे पिङको परम्परा पहिलेको तुलनामा कमजोर हुँदै गएको स्थानीयहरू बताउँछन्। दसैँ नजिकिएसँगै गाउँका युवा भेला भएर बाबियोको डोरी बाट्ने, काठको पिर्का तयार गर्ने र उपयुक्त ठाउँमा पिङ हाल्ने चलन थियो। पिङ खेल्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साह उत्तिकै हुन्थ्यो। गाउँका मानिस एकै ठाउँमा भेला हुँदा आपसी सद्भाव, आत्मीयता र मनोरञ्जनको वातावरणसमेत सिर्जना हुन्थ्यो।

तर अहिले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा क्रमशः कमजोर बन्दै गएको छ। रोजगारी र अवसरको खोजीमा युवा विदेश पलायन हुनु, गाउँमा युवा जनशक्तिको अभाव हुनु तथा पुराना संस्कृति र परम्पराप्रति नयाँ पुस्ताको चासो घट्नु यसको प्रमुख कारण रहेको स्थानीयहरूको बुझाइ छ।

बाणगंगा–१, जितपुरका समाजसेवी हिमलाल पौडेललाई आफ्नो बाल्यकालको दसैँ र अहिलेको दसैँबीच निकै भिन्नता महसुस हुन्छ। उनका अनुसार पहिले दसैँमा गाउँघरमा छुट्टै उत्साह र उमङ्ग हुन्थ्यो। गाउँका मानिस मिलेर विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्थे। तर अहिले दसैँलगायतका चाडपर्वमा मौलिक परम्पराभन्दा देखासिकी बढ्दै गएको उनले बताए।

“पहिलेको दसैँमा गाउँघरमा छुट्टै रौनक हुन्थ्यो। सबैजना मिलेर चाडपर्व मनाउने र परम्परालाई निरन्तरता दिने चलन थियो। अहिले भने धेरै कुरा परिवर्तन भएका छन्,” पौडेलको भनाइ छ।

स्थानीय गीता अधिकारी पनि लिङ्गे पिङको परम्परा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छिन्। उनका अनुसार पहिले बाबियोको डोरी बाटेर काठको पिर्का प्रयोग गरी पिङ बनाइन्थ्यो। गाउँका मानिस मिलेर पिङ हाल्ने र पालैपालो खेल्ने चलन थियो। अहिले पिङ हाल्ने सीप र त्यसका लागि आवश्यक जनशक्ति पाउनसमेत कठिन हुन थालेको उनको अनुभव छ।

“हाम्रो पालामा बाबियो बाटेर काठको पिर्का राखी लिङ्गे पिङ बनाइन्थ्यो। अहिले त पिङ हाल्ने मान्छे नै भेटिन गाह्रो छ। कतैकतै पिङ हाले पनि फलामको टेको र डोरी प्रयोग गर्ने गरेको देखिन्छ। समयसँगै हाम्रा परम्परा पनि परिवर्तन हुँदै गएका छन्,” अधिकारीले भनिन्। उनका अनुसार यही अवस्था कायम रहे केही वर्षपछि गाउँघरमा परम्परागत लिङ्गे पिङ देख्नसमेत मुस्किल हुन सक्छ।

त्यस्तै, स्थानीय विष्णु खनाल अहिलेको पुस्तामा मौलिक कला, संस्कृति र परम्पराबारे जानकारी कम हुँदै गएको बताउँछन्। पुरानो पुस्ताले अभ्यास गर्दै आएको संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसके त्यसको अस्तित्व नै संकटमा पर्न सक्ने उनको भनाइ छ।

लिङ्गे पिङ केवल मनोरञ्जनको साधन मात्र होइन, यो नेपाली ग्रामीण जीवन, सामूहिक सहभागिता र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा पनि हो। पिङ हाल्ने क्रममा गाउँलेबीच हुने सहकार्य र पिङ खेल्दाको रमाइलोले दसैँलाई थप विशेष बनाउँथ्यो। यसले पुस्ताबीच आत्मीयता बढाउनुका साथै गाउँको सामाजिक सम्बन्धलाई समेत बलियो बनाउँथ्यो।

समयसँगै जीवनशैली र मनोरञ्जनका माध्यम परिवर्तन हुनु स्वाभाविक हो। तर परिवर्तनका नाममा मौलिक संस्कृति नै हराउँदै जानु भने चिन्ताको विषय हो। लिङ्गे पिङको परम्परालाई निरन्तरता दिन स्थानीय समुदाय, युवा समूह, क्लब तथा सम्बन्धित निकायले पहल गर्न आवश्यक देखिन्छ। गाउँमा सामूहिक रूपमा पिङ हाल्ने, नयाँ पुस्तालाई यसको महत्त्व बुझाउने र पुराना सीप हस्तान्तरण गर्ने प्रयासले यो परम्परा जोगाउन सहयोग पुग्न सक्छ।

तपाईको प्रतिक्रिया