काठमाडौं । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो।
बरामद औषधिसहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।
प्रहरीले उनीहरूलाई फर्पिङ बसपार्कबाट नियन्त्रणमा लिएको जनाएको छ। चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि यति ठूलो परिमाणमा फेला परेपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको छ।
पक्राउ परेका दुवै युवक र बरामद औषधिबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।





