सोलुखुम्बु। नेपाली समाजमा दसैंलाई परिवार, आफन्त र नातागोतासँग भेटघाट गरी खुसी साटासाट गर्ने प्रमुख पर्वका रूपमा लिइन्छ। काम विशेषले सहरबजार तथा विदेश पुगेका व्यक्तिसमेत दसैंमा घर फर्किने गर्छन्। तर, हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा कार्यरत पर्यटन व्यवसायी र मजदुरका लागि भने दसैंभन्दा पर्यटकीय सिजन बढी महत्वपूर्ण बनेको छ।

खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएसँगै पर्यटन व्यवसायी, गाइड, भरिया तथा होटल सञ्चालकलाई पर्यटकको सेवामा भ्याइनभ्याई भएको छ। असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिने यस क्षेत्रमा पर्यटकको चाप बढेपछि दसैं–तिहारजस्ता चाडपर्वलाई समेत दोस्रो प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्था रहेको पर्यटन व्यवसायी बताउँछन्।

स्काई वेए नेपाल ट्रेक्स प्रालिका सञ्चालक तथा सोलुखुम्बुका बलबहादुर दर्नालका अनुसार वर्षमा एकपटक आउने दसैं परिवारसँगै बसेर मनाउने इच्छा हुँदाहुँदै पनि पर्यटन व्यवसायमा आबद्ध युवाहरू कामकै सिलसिलामा घरपरिवारबाट टाढिन बाध्य छन्। अन्य क्षेत्रमा पर्याप्त रोजगारीका अवसर नहुँदा पर्यटकीय सिजनमा ट्रेकिङमा जाने र अफ सिजनमा गाउँघरमै समय बिताउने यहाँका पर्यटन मजदुरको नियमित जीवनशैली बनेको छ।

खुम्बु क्षेत्रमा पर्यटन व्यवसाय गर्ने वीरबहादुर मगर पनि अहिले चाडपर्वको भन्दा पर्यटकीय सिजनको रौनक बढी रहेको बताउँछन्। थुलुङ दुधकोशी गाउँपालिका–८, देउसाका पासाङ तामाङका अनुसार खुम्बुमा पर्यटकीय सिजन सुरु भइसकेकाले चाडपर्वको वास्ता नगरी ट्रेकिङमा निस्किनुपर्ने बाध्यता छ।

सामान्यतया चाडपर्वले परिवारका सदस्यबीच आत्मीयता बढाउने, आफन्तसँग भेटघाट गर्ने र सुखदुःख साट्ने अवसर प्रदान गर्छन्। तर, पर्यटन क्षेत्रमा आश्रित मजदुरका लागि यही समय आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो। त्यसैले परिवारसँगै बसेर दसैं मनाउने रहर हुँदाहुँदै पनि उनीहरू पर्यटकको सेवामा खटिनुपर्ने बाध्यतामा छन्।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार खुम्बु क्षेत्रमा दैनिक सयौं पर्यटक भित्रिरहेका छन्। मौसम अनुकूल भएसँगै हवाईजहाज र हेलिकोप्टरमार्फत विदेशी पर्यटक सगरमाथा क्षेत्र पुग्ने क्रम बढेको छ। कतिपय पर्यटक भने काठमाडौंँबाट सल्लेरी हुँदै सडकमार्गबाट खुम्बु पुग्ने गरेका छन्।

यातायात व्यवसायी रामबहादुर विश्वकर्माका अनुसार अहिले सल्लेरीदेखि सुर्केसम्म सिधा जिप सेवा सञ्चालनमा रहेकाले दैनिक ठूलो संख्यामा विदेशी पर्यटक बोलेरो जिपमार्फत खुम्बु जाने गरेका छन्। सडक यातायातको पहुँचले पर्यटकको आवागमनलाई थप सहज बनाएको उनको भनाइ छ।

पर्यटकको आगमन बढेसँगै स्थानीय युवाहरू गाइड, भरिया तथा अन्य सहयोगीका रूपमा व्यस्त छन्। पर्यटकीय चाप बढेपछि खुम्बु क्षेत्रका होटल व्यवसायीलाई समेत पाहुनाको स्वागत, सत्कार र व्यवस्थापन गर्न भ्याइनभ्याई भएको छ।

लुक्लाका अमृत मगरका अनुसार पर्यटकीय सिजनमा पर्यटकको चाप उच्च हुने भएकाले होटल व्यवसायीहरू चाडपर्व मनाउनभन्दा पर्यटकको सेवामा बढी केन्द्रित हुने गरेका छन्।

यसरी दसैंले देशका धेरै परिवारलाई पुनर्मिलनको अवसर प्रदान गरिरहेका बेला खुम्बुका पर्यटन मजदुर भने यही मौसमलाई रोजगारी र आम्दानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्। परिवारसँग बसेर चाडपर्व मनाउने रहरलाई थाती राख्दै उनीहरू पर्यटकको सेवामा खटिएका छन्। चाडपर्वको खुसीभन्दा जीविकोपार्जनको बाध्यताले प्राथमिकता पाउँदा खुम्बुका पर्यटन मजदुरको दसैं यस वर्ष पनि काममै बित्ने देखिन्छ।

तपाईको प्रतिक्रिया