भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरस्थित मुन्दुम क्षेत्रमा चार किलोमिटर पदयात्रा गरेका छन्। पारिवारिक भ्रमणका क्रममा आफ्नो पैतृक जिल्ला भोजपुर पुगेका मुख्यमन्त्री कार्कीले टेम्केमैयुङ गाउँपालिकास्थित टेम्केडाँडाको आधार शिविरदेखि चखेवा भञ्ज्याङ क्षेत्रसम्म पदयात्रा गरेका हुन्।

समुद्री सतहबाट करिब तीन हजार एक सय मिटर उचाइमा रहेको टेम्केडाँडा तथा आसपासको मुन्दुम क्षेत्र प्राकृतिक सौन्दर्य, किरात समुदायको मौलिक संस्कृति र परम्पराका साथै पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको मुख्यमन्त्री कार्कीले बताए। यस क्षेत्रको भ्रमणले भोजपुरको पर्यटन प्रवर्द्धन र स्थानीय सम्पदाको पहिचानलाई थप उजागर गर्ने उनको भनाइ थियो।

सरकारले अघि सारेको एक सय पर्यटकीय गन्तव्यको सूचीमा मुन्दुम पदमार्गसमेत समावेश छ। प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक विविधता र पदयात्राका लागि उपयुक्त मानिने यस क्षेत्रलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मुख्यमन्त्री कार्कीले टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुमा सञ्चालित गोठेसिं होमस्टेको पनि अवलोकन गरेका छन्। अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष पूर्णबहादुर राई र होमस्टे सञ्चालक प्रकाश राईलगायतसँग स्थानीय विकास तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।

स्थानीयस्तरमा सञ्चालित होमस्टे र मुन्दुम पदमार्गजस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धनले भोजपुरको पर्यटन विकासमा योगदान पुर्‍याउन सक्ने स्थानीयको अपेक्षा छ।

तपाईको प्रतिक्रिया