काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजाघरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्रीवितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।

विभागका अनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्रीवितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न विभागले निर्देशन दिएको छ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालयमा सरसफाइ कायम राख्न र म्याद गुज्रिएका, दूषित तथा खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि व्यवसायीलाई आग्रह गरिएको छ।

विभागले उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई सचेत गराउँदै अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

विभागको यस कदमले राजमार्गमा यात्रा गर्ने उपभोक्तालाई उचित मूल्यमा स्वच्छ तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया