विराटनगर। मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ। बिहीबार राति मोरङको रतुवामाई नगरपालिका– ५ गोबिन्दपुरमा गाँजा कारोबारी पक्राउ गर्न गोली चलाएको हो।प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। करिब १०० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका–५ गोबिन्दपुर स्थित बक्रा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो। सो स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट राति गस्ती टोली खटिएको थियो।
राति करिब ९ः२५ बजे केही मानिसहरू गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भयो।प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाँजा बोकेकाहरु भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले फेरि चलाएको गोली भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी देब्रे खुट्टाको पिँडुलामा लाग्यो।
घाइते चौधरी र उनीसँगै रहेका भारत अररिया जिल्ला महगामा ग्राम पंचायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पक्राउ परे। प्रहरीले उनीहरुको साथबाट करिब १०० किलो गाँजा पनि बरामद गरेको छ। घाइते चौधरीको अवस्था सामान्य छ। दुवैमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।





