काठमाडौं। कैलालीको भजनी सडकखण्डबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब दुई लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुपप्र ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना–ठूला सर्ट फेला परेका थिए।बरामद कपडाको अनुमानित मूल्य दुई लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

अटो चालक चौधरीसहित अटोमा सवार टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ।

तपाईको प्रतिक्रिया