विराटनगर । १४औँ राष्ट्रिय पौडी प्रतियोगिता (एनएसए कप) मा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्यसहित १० पदक जितेका छन ।
ललितपुरको सातदोबाटोस्थित हिट स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै पदक हासिल गरेका हुन ।
प्रतियोगितामा सिशोभुवन राईले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण र एक रजत पदक जित्नुभएको छ। उहाँले ५० मिटर, १०० मिटर र २०० मिटर बटरफ्लाई तथा ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्नुभएको हो। त्यस्तै, ४०० मिटर व्यक्तिगत मेडल (आईएम) मा रजत पदक प्राप्त गर्नुभएको छ।
त्यसैगरी, आरोन भण्डारीले २०० मिटर व्यक्तिगत मेड्ले (आईएम) मा स्वर्ण पदक जित्नुभएको छ। उहाँले १०० मिटर आईएम र २०० मिटर फ्रिस्टाइलमा रजत तथा १०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक प्राप्त गर्नुभएको छ।
त्यस्तै, आयुषा पौडेलले ब्याकस्ट्रोक विधामा कांस्य पदक जित्नुभएको छ।
१४औँ राष्ट्रिय पौडी प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले हासिल गर्नुभएको यो सफलताले राष्ट्रिय स्तरमा प्रदेशको पौडी खेलको सम्भावना र खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता उजागर गरेको राष्ट्रिय कोच इन्द्रजीत राजभण्डारीले बताउनुभयो ।





