काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को हवाई यातायात नियन्त्रण प्रणाली तथा पूर्वाधार सुधारका लागि जापानले २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा बिहीबार नेपालका लागि जापानी राजदूत माएदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायबीच हस्तारक्ष सम्पन्न भएको हो। सम्झौताअनुसार जापान सरकारले उक्त परियोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो।

योसँगै अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात नियन्त्रण प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउन सहयोग पुग्ने विश्वास सरकारको छ। बढ्दो हवाई चाप, नेपालको जटिल भौगोलिक अवस्था र मौसममा हुने तीव्र परिवर्तनका कारण विमानस्थलको हवाई यातायात व्यवस्थापनलाई थप सक्षम बनाउन यो परियोजनाले काम गर्ने विश्वास लिइएको छ।

Arghakhachi cementShree Steel
परियोजनाअन्तर्गत विमानस्थलको पुरानो हवाई यातायात नियन्त्रण टावरको पुनःस्थापना तथा आवश्यक पूर्वाधारको आधुनिकीकरण गरिने छ। साथै, विद्युत तथा वैकल्पिक विद्युत् आपूर्ति प्रणाली, ताप तथा वातानुकूलन प्रणाली, अग्नि सुरक्षा र सुरक्षा प्रणालीलाई समेत स्तरोन्नति गरिने छ।

त्यस्तै, विमानस्थलमा सञ्चार, हवाई मार्ग निर्देशन, निगरानी तथा हवाई यातायात व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का मापदण्डअनुसार आधुनिक बनाइने छ।

परियोजनाले भूकम्प तथा जलवायुजन्य जोखिम सामना गर्न सक्ने पूर्वाधार निर्माणमा समेत जोड दिने छ। विमानस्थलको सञ्चालनमा अवरोध आउन नदिन प्रणालीमा वैकल्पिक व्यवस्था तथा थप भरपर्दोपन कायम गर्ने लक्ष्य राखिएको छ।

हालैका बाढी तथा विपद्का घटनाका क्रममा विमानस्थलको निरन्तर सञ्चालन आपत्कालीन उद्धार तथा राहतका लागि समेत महत्वपूर्ण बनेको थियो। त्यसैले प्राकृतिक विपत्तिका समयमा समेत हवाई सेवा सञ्चालनलाई निरन्तरता दिन सक्ने क्षमता विकास परियोजनाको महत्वपूर्ण पक्षका रूपमा राखिएको छ।

जापानले नेपालमा हवाई सुरक्षा तथा मानव संसाधन विकासका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ।

अनुदानअन्तर्गत हवाई यातायात नियन्त्रण तथा विमानस्थल सञ्चालनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्न तालिमसमेत प्रदान गरिने छ। यसबाट नयाँ प्रविधि सञ्चालन तथा नियमित मर्मतसम्भारका लागि नेपालकै जनशक्तिको क्षमता बढ्ने अपेक्षा गरिएको छ।

परियोजना सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यातायात व्यवस्थापनको सुरक्षा र कार्यक्षमता बढ्ने, विमान उडान तथा अवतरणमा सेवा निरन्तरता सुधार हुने र विपद्का समयमा विमानस्थल सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने जापान सरकारले जनाएको छ।

नेपालको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा त्रिभुवन विमानस्थलको महत्वपूर्ण भूमिका रहेकाले हवाई पूर्वाधारको सुधारले समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

जापानले नेपालमा हवाई सुरक्षा तथा मानव संसाधन विकासका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ। यसै सहकार्यलाई निरन्तरता दिँदै विमानस्थलको हवाई यातायात नियन्त्रण पूर्वाधार सुधारका लागि अनुदान उपलब्ध गराइएको हो।

यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। दुई देशबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा समेत यो परियोजनालाई हेरिएको जापानी दूतावासले जनाएको छ। जापानले परियोजनाले नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया