इटहरी । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले जीवन बीमा सञ्चालन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल-सीएफटी) सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना भएको छ ।
‘सस्टेनेबल लाइफ इन्स्योरेन्स अपरेसन्स विथ एएमएल-सीएफटी सेफगाड्र्स’ विषयक प्रशिक्षण मंगलबार बाट होटल भेरान्डा, सेन्ट्रल प्लाजामा सञ्चालन भएको हो । बीमा क्षेत्रमा कार्यरत जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्दै जीवन बीमा सञ्चालन तथा नियामकीय अनुपालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गर्न लागिएको कार्याक्रममा मंगलबार जीवन बीमाको जोखिम विश्लेषण, कागजात तथा अन्डरराइटिङ, गैर–चिकित्सकीय, चिकित्सकीय तथा वित्तीय अन्डरराइटिङ, पोलिसी सेवा, मूल्य निर्धारण, दाबी व्यवस्थापन तथा बीमा ठगी पहिचान र न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको छ ।
साथै आज एएमएल÷सीएफटीसम्बन्धी विषयमा केन्द्रित प्रशिक्षण हुनेछ । यसअन्तर्गत सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तपोषणको अवधारणा, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) का मापदण्ड, जोखिम मूल्याङ्कन, जोखिममा आधारित दृष्टिकोण (आरबीए), एएमएल÷सीएफटी सुशासन, कानुनी व्यवस्था तथा रिपोर्टिङ संस्थाको भूमिकाबारे जानकारीमा कार्यक्रममा जानकारी दिइने आयोजकले बताएको छ ।
त्यसैगरी आतङ्कवादी तथा प्रसार वित्तपोषण, लक्षित प्रतिबन्ध, शंकास्पद गतिविधिका संकेत, बीमा क्षेत्रमा देखिएका जोखिम तथा प्रवृत्ति, नेपाल बीमा प्राधिकरणका एएमएल÷सीएफटीसम्बन्धी निर्देशन र वित्तीय जानकारी एकाइ (एफआईयू) नेपालका रेड फ्ल्यागबारे समेत प्रशिक्षण दिइनेछ।
प्रशिक्षणमा अन्डरराइटर, दाबी व्यवस्थापन तथा बिक्री–विपणनमा कार्यरत कर्मचारी, सञ्चालन व्यवस्थापक, शाखा कार्यालयका टोली प्रमुखलगायत सहभागी हुन सक्नेछन्। कार्यक्रममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिग्विजय सिंघल, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जन र नेपाल राष्ट्र बैंकका उपनिर्देशक दिलबहादुर सुब्बा आङदेम्बे स्रोत व्यक्तिका रूपमा सहभागी हुनुभएको छ ।
प्रशिक्षणमा व्याख्यान, केस स्टडी, समूह छलफल र प्रश्नोत्तर विधि अपनाइने आईआईएनले जनाएको छ। प्रशिक्षणपछि सहभागीले जीवन बीमा जोखिम, अन्डरराइटिङ, दाबी व्यवस्थापन तथा एएमएल÷सीएफटीसम्बन्धी जोखिम पहिचान, मूल्याङ्कन र रिपोर्टिङ प्रक्रियामा व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।





