विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा मोरङ्गको रंगेली नगरपालिकामा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र प्रक्रिया, जीवन बीमाको बचत तथा लगानी पक्ष र कर्मचारीहरूलाई तोकिंदै आएका लक्ष्य जस्ता विषयमा प्रश्न उठाइएका थिए।
रंगेली नगरपालिकाकी कावा–नगर प्रमुख भुमा पराजुललिे सबै नागरिक बीमासँग परिचित भए पनि यसको प्रभावकारी विस्तारका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बीमाका शर्त, प्रक्रिया र सुविधाबारे स्पष्ट जानकारी दिनुपर्ने, कर्मचारी तथा अभिकर्ताबाट हुन सक्ने गलत अभ्यास रोक्न कडा नियमन आवश्यक रहेको र गतिविधिमा संलग्न मध्यस्थकर्तालाई कानूनी कारबाही गर्न सकिनेप्रति ध्यानाकर्षण गराउनुभयो ।
उठेका प्रश्नहरूको जवाफ दिंदै प्राधिकरण प्रमुख राजेन्द्र महर्जनले बीमा सेवा केबल लाइसेन्स प्राप्त कम्पनी वा अधिकृत व्यक्तिमार्फत मात्र लिन सहभागीहरूलाई आग्रह गर्नुभयो । दाबी दर्ता गर्दा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने र बीमा सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारी उहाँले गराउनुभयो । उहाँ अनुसार कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । निजीर्वन बीमामा क्षति मूल्यांकनका कारण दाबी भुक्तानीमा केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा उपस्थितहरुले कृषि ब्यावसायमा बीमाको माग समेत गरेका थिए । रंगेलीमा कृषी उपजको उत्पादन अधिक हुने भएकाले बीमा कम्पनीले कृषी व्यावसायलाई अधिक मात्रामा बीमाको क्षेत्रमा समावेश गर्नुपर्ने आग्रह गर्नुभयो । कार्यक्रममा रंगेली नगरपालिकाका जनप्रतिनिधि बैंक तथा वितीय सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।





