काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई दक्षिण कोरियाली खाद्य ब्रान्ड ओरियनले १ लाख थान चोको पाई वितरण गरेको छ। बाढी प्रभावित बालबालिका तथा परिवारलाई कम्पनीले स्थानीय साझेदार मिलेनिया ग्लोबलमार्फत २५ लाख रुपैयाँ मूल्य बराबरको चोको पाई सहयोग गरेको हो।
हालै आएको बाढीबाट प्रभावित समुदायका बालबालिका तथा परिवारलाई लक्षित गरी उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ। विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्ने उद्देश्यले चोको पाई उपलब्ध गराइएको हो।
ओरियन चोको पाई विगत करिब पाँच वर्षदेखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ। यस अवधिमा नेपाली उपभोक्तामाझ आफ्नो बजार विस्तार गरेको कम्पनीले नेपालसँगको सम्बन्धलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेको जनाएको छ।
ओरियन इन्डियाका प्रमुख कार्यकारी अधिकृत मिन वु किमले नेपाल ओरियन चोको पाईको यात्रामा महत्वपूर्ण बजारका रूपमा रहेको बताए। ‘नेपाल करिब पाँच वर्षदेखि ओरियन चोको पाईको यात्राको महत्वपूर्ण हिस्सा बनेको छ। कठिन समयमा हामी सबै एकसाथ उभिनु र आफूले सक्ने सहयोग गर्नु आवश्यक हुन्छ,’ उनले भने, ‘यो सहयोगले बाढीबाट प्रभावित बालबालिका तथा परिवारलाई केही राहत पुग्नुका साथै उनीहरूको अनुहारमा केही समयका लागि भए पनि खुसी ल्याउने विश्वास लिएका छौं।’
कम्पनीका अनुसार सहयोगस्वरूप उपलब्ध गराइएको १ लाख थान चोको पाईको कुल मूल्य २५ लाख रुपैयाँ रहेको छ। बाढीबाट प्रभावित बालबालिका तथा परिवारलाई लक्षित गरी स्थानीय साझेदारमार्फत उक्त सामग्री वितरण गरिने जनाइएको छ।





