काठमाडौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस),सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिदै उनले संस्थाको कार्यसम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

सञ्चारमन्त्री डा तिमिल्सिनाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउनुभयो । कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिनेगरी सङ्गठन संरचना निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले सार्वजनिक सञ्चार संस्थाहरूको मुख्य जिम्मेवारी समाचार, सूचना तथा कार्यक्रम उत्पादन र प्रसारण भएकाले सोहीअनुसार जनशक्ति तथा दरबन्दी निर्धारण गर्नुपर्ने बताए । व्यावसायिक र उत्कृष्ट समाचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा हाल कार्यरत जनशक्तिको अवस्थासमेत अध्ययन गरी कामको प्रकृति र कार्यबोझका आधारमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

सार्वजनिक सञ्चार संस्थाहरूको आगामी कार्यदिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजनाका आधारमा पद, जनशक्ति, स्रोतसाधन र कार्यालय संरचनाबीच उचित तालमेल कायम गर्नुपर्नेसमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए । संस्थाको उद्देश्य, कार्यक्षेत्र र जिम्मेवारीअनुसार उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग हुनेगरी व्यवस्थापन सुधार गर्नुपर्ने उनले उल्लेख गरे ।

सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत संस्थागत संरचना, दरबन्दी, जनशक्ति आवश्यकता, कामको विभाजन, कार्यविवरण, अधिकार तथा उत्तरदायित्व र कार्यालय तथा शाखाको आवश्यकताका विषयमा अध्ययन भइरहेको छ । सञ्चार मन्त्रालयबाट भइरहेको सर्वेक्षणबाट प्राप्त निष्कर्षका आधारमा संस्थाहरूको भावी संरचना र जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया