पथरी शनिश्चरे, असोज ९ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमै आयोजक टोली पथरी–११ स्तब्ध बनेको छ। भारतको यूके एफसीले सडेन डेथमा ८–७ गोलअन्तरले आयोजक पथरी–११ लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
पथरी रंगशालामा शनिबार भएको खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि दुवै टोलीले बराबरी गोल गरेपछि खेलको निर्णय सडेन डेथबाट गर्नुपरेको थियो।
सडेन डेथसम्म पुगेको खेलमा दुवै टोलीका खेलाडीले दबाबबीच उत्कृष्ट प्रदर्शन गरे। अन्ततः यूके एफसीले निर्णायक प्रहारमा बाजी मार्दै आयोजक टोलीलाई घरेलु मैदानमै निराश बनायो।
निर्धारित समयभर दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। पथरी–११ र यूके एफसीले गोलका थुप्रै अवसर सिर्जना गरे पनि अन्तिम प्रहारमा चुकेपछि खेल गोलरहित बनेको थियो।
खेलमा यूके एफसीका गोलरक्षक सचिन गुरुङ निर्णायक सावित भए। जर्सी नम्बर १८ का गुरुङ उत्कृष्ट प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए। उद्घाटन समारोहमा नगर प्रमुख तुम्बापोले गोल्डकप पथरी शनिश्चरेको पहिचान र गौरवसँग जोडिएको प्रतियोगिता भएको बताए।
उनले प्रतियोगितालाई सभ्य, भव्य र अनुशासित रूपमा सम्पन्न गर्न खेलाडी, आयोजक, दर्शक तथा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताए।
उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, पथरी शनिश्चरे–२ का वडा अध्यक्ष नैना साम्पाङ राई, वडा सदस्य चन्द्रकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीनखुलाल बुढाथोकीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।
वर्षा र प्रतिकूल मौसमका बाबजुद पथरी रंगशालामा खेल हेर्न दर्शकको उल्लेख्य भीड लागेको थियो। घरेलु टोलीलाई समर्थन गर्न पुगेका दर्शक अन्तिमसम्म खेलमा उत्साहित देखिए पनि सडेन डेथमा पथरी–११ पराजित भएपछि निराश बने।
अब सेमिफाइनलमा यूके एफसीले कसलाई सामना गर्ने भन्ने रोमाञ्चक प्रतीक्षा सुरु भएको छ। प्रतियोगिताअन्तर्गत भोलि डिफेन्डिङ च्याम्पियन सिराहाको सहलेश फुटबल क्लब र काठमाडौंको न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ।
सडेन डेथमा आयोजक पथरी–११को सपना चकनाचुर, यूके एफसी सेमिफाइनलमा
- भोजराज घिमिरे





