नवलपुर (नवलपरासी), असोज १७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित एस मोडमा आज बिहान पल्टिएको थियो । दुर्घटनामा १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले राससलाई जानकारी दिनुभयो ।
पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते १२ जनामध्ये मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ ।
मध्यविन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार चार जना घाइतेलाई भने अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । आवश्यकताअनुसार थप विशेषज्ञ उपचार आवश्यक भएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ । रासस





