सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) असोज १७ गते । धनकुटा नगरपालिकाले बजार क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सुरु गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोग र धरानस्थित पशु चिकित्सकको टोलीले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप अभियान सुरु गरेको हो ।
धनकुटामा सामुदायिक कुकुर तथा बिरालोको टोकाइका घटना बढ्दै गएपछि कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सुरु गरेको हो ।
धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार घरपालुवा कुकुरलाईसमेत निश्चित शुल्क लिएर खोप तथा उपचारको व्यवस्था गरिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा चार सय ६४ जना कुकुर तथा विरालोका टोकाइबाट पीडित भएका र रेबिजविरुद्धको उपचारका जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको साउनमा ५४ जना र भदौमा ६० जना रेबिजविरुद्धको उपचारका लागि जिल्ला अस्पताल आएका उहाँले बताउनुभयो ।
धनकुटा बजार, चोक तथा गल्लीहरुमा सामुदायिक कुकुरका कारण स्थानीय पीडित बन्दै आएका छन् । विषेशगरी सामुदायिक कुकुरका कारण बटुवा, स्कुले विद्यार्थी, यात्रामा निस्किएका यात्रु र बिहान बेलुकी बजार तथा चोक निस्किनलाई नै समस्या हुने गरेको छ ।
स्थानीयको गुनासो बढेपछि धनकुटा नगरपालिकाले कुकुर व्यवस्थापन अभियान सञ्चालन गर्न बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सुरु गरेको जनाएको छ ।





