सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) असोज १७ गते । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री गीता तिम्सिनाले धनकुटालगायत पहाडी जिल्लाहरुमा विकास निर्माणका काम प्राथमिकतामा राख्ने बताउनुभएको छ । शनिबार सामाजिक विकास मन्त्रालय मातहतमा रहेका कार्यालयको अनुगमनका क्रममा धनकुटा पुग्नुभएको मन्त्री तिम्सिनाले प्रेस सेन्टर धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारको अनुभूति हुनेगरी विशेष कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । सङ्घीयताको मर्मअनुसार कोशीका १४ वटै जिल्ला तथा पहाडी जिल्लाहरुमा सरकारको अनुभूति हुनेगरी विकास निर्माणका कामहरु प्राथमिकतामा राखिने बताउनुभयो । यस्तै उहाँले धनकुटाका सात वटै स्थानीय तहलाई समेटेर समग्र विकास योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्र्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल र योजना निर्माणमा आफू पूर्णरुपमा केन्द्रित हुने भनाइ राख्नुभयो । जेट पुनरावलोकनको सन्दर्भ जोड्दै मन्त्री तिम्सिनाले मन्त्रालयहरुमा दोहोरिएका र कार्यान्वयन हुन नसक्ने शीर्षकहरू मिलाउने तयारी भइरहेकोसमेत बताउनुभयो ।
भौतिक मन्त्रालय अन्तर्गत पत्रकार महासङ्घ धनकुटाको भवन निर्माणका लागि विनियोजित भएको ९० लाख रुपियाँ बजेटको विषयमा चर्चा गर्दै उहाँले उक्त रकम कुनैपनि हालतमा कटौती नहुने आश्वासनसमेत दिलाउनुभयो । धनकुटामा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय र धनकुटास्थित प्रदेश सङ्ग्रहालय व्यवस्थित गरिने भन्नुहुँदै उहाँले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मुलघाट धरान सुरुङ मार्गबारे मन्त्रालय तहमा छलफल चलाउने पनि बताउनुभयो ।





